अब इन्द्रसरोवरमा अनलाईन प्रणालीबाट मात्रै व्यक्तिगत घटना दर्ता हुने

मकवानपुर । उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सबै वडाबाट अनलाईन प्रणालीमा व्यक्तिगत घटना दर्ता शुरु गरिएकोछ । व्यक्तिगत घटना दर्तालाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सक्रियतामा सबै स्थानीय तहमा एम.आई.एस. अनलाईन प्रणालीमा आधारित बनाउने लक्ष्य अनुरुप इन्द्रसरोवर गाउँपालिकामा पनि सो अभ्यासको थालनी गरिएको हो ।
जिल्लाको १० स्थानीय तहहरु मध्ये भौगोलिक रुपमा विकटता तथा ग्रामिण भेग भएकाले अनलाइन प्रणालीलाई अवलम्बन गर्न केही समस्या तथा चुनौती भए पनि स्थानीय पञ्जिकाधिकारी तथा जनप्रतिनिधीहरुको सकारात्मक सोच र सहयोगबाट इन्द्रसरोवरले अनलाईन प्रणाली अवलम्बन गरेको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जनाएको छ ।
गाउँपालिकाको वडा नं. ५ बाट यहि जेठ २५ गतेबाट शुरु भएको अनलाईन दर्ता असाढ ८ गते सम्ममा ५ वटै वडाबाट सुरु भैसकेको छ । जन्म, मृत्यु, बिवाह, बसाइसराइ र सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनाहरुलाई वडा कार्यालयमा गई अनलाइन प्रणालीमा दर्ता गरी प्रणालीबाटै प्राप्त प्रमाणपत्र प्रदान गर्ने कार्यलाई अनलाईन प्रणालीमा व्यक्तिगत घटना दर्ता भनिन्छ ।
गाउँपालिकाको ५ वटै वडाबाट अनलाईन प्रणालीमा घटना दर्ता सुरु गरेसँगै गाउँपालिकामा हस्तलिखित प्रमाणपत्र दिन बन्द भएको छ भने अनलाईन प्रणालीबाट प्राप्त प्रमाणपत्र प्रदान गर्न शुरु भएको छ ।
गाउँपालिकाको सबै वडाले अनलाईन घटना दर्तालाई अवलम्बन गरेसँगै सबै वडाका नागरिकहरुलाई पब्लिक पोर्टल प्रयोग गर्न प्रोत्साहन गर्ने भएको छ । घरबाटै व्यक्तिगत घटना दर्ताको लागि अनलाईन मार्फत सूचना फारम भर्नका लागि नागरिकहरुले पब्लिक पोर्टलको प्रयोग गर्न सक्नेछन् । नागरिकलाई समयको बचत, वडामा भिँडभाड कम हुने, छिटो र छरितो सेवा प्रदान गर्न सकिने भएकोले पब्लिक पोर्टलको प्रयोग गर्न प्रोत्साहन गर्ने कार्यको तीब्र तयारीमा लागेको पनि गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस